नियम ७४
पारिवारिक निवृत्तिभरण र उपदान
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारीको सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाइ वा अविवाहिता दिदी बहिनीलाई नियम ६९ वा ७० मा लेखिए बमोजिम उपदान वा निवृत्तिभरण प्राप्त हुनेछ ।
तर निवृत्तिभरणको हकमा यस्तो निवृत्तिभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको सशस्त्र प्रहरी कर्मचारीको परिवार वा नाबालक भाइ वा अविवाहिता दिदी बहिनीलाई सात वर्ष पुगेपछि निवृत्तिभरण प्राप्त हुने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा उल्लेख भए तापनि निवृत्तिभरण पाउने व्यक्ति नाबालक रहेछ भने निज अठार वर्षको उमेर नभएसम्म त्यस्तो निवृत्तिभरण पाउनेछ ।
(३) सशस्त्र प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भई उपनियम (१) बमोजिम पारिवारिक निवृत्तिभरण पाउने भएमा सो निवृत्तिभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तिभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तिभरण पाउन थालेको सात वर्ष व्यतित भइसके पछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तिभरणको आधा रकम पाउनेछ ।
तर पारिवारिक निवृत्तभरण पाइरहेको विधुर पति वा विधवा पत्नीको मृत्यु भएमा वा निजले अर्को विवाह गरेमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको नाबालिग सन्तानले अठार वर्ष पुरा नभएसम्म त्यस्तो निवृत्तभरणको रकम पाउनेछ ।
(४) बहालवाला सशस्त्र प्रहरी कर्मचारीको तलब बृद्धि हुँदा तलबको सुरु अङ्कमा जति बृद्धि भएको छ त्यसको दुई तिहाई रकम उपनियम (१), (२) र (३) अनुसार पारिवारिक निवृत्तिभरण पाई रहेका व्यक्तिले खाइपाइ आएको पारिवारिक निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।
(५) कुनै सशस्त्र प्रहरी कर्मचारीको यस नियमावली बमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरुमध्ये यस नियमावली बमोजिम निजको निवृत्तिभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
(६) निवृत्तिभरण वा उपदान दिँदा मृतक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो परिवारका सदस्य मध्येमा वा नाबालक भाइ वा अविबाहिता दिदी बहिनीलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि इच्छाएको नभए सो रकम निजको परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठहर्‍याएको व्यक्तिलाई दिइनेछ ।